एजेन्सी, २९ भदाै : ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा स्पेनिस बार्सिलोनाले शानदार जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुना टोली भ्यालेन्सियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई शानदार जित दिलाउनका लागि लुइस स्वारेजले दुई गोल गरे भने १६ वर्षीय युवा स्टार अन्सु फाती, फ्रेन्की डे जोङ र जेरार्ड पिकेले समान एक/एक गोल गरे । यसै सिजनबाट बार्सिलाेनाकाे सिनियर टाेलिबाट खेलेका युवा स्टार फातीले प्रभावशाली प्रदर्शन गरे ।

याे खेलमा पनि आफ्ना मुख्य खेलाडी तथा कप्तान लियोनल मेस्सी बिना नै बार्सिलाेना मैदानमा उत्रिएकाे थियाे । कप्तान मेस्सी प्रशिक्षणको क्रममा घाइते भएका थिए । लिगकाे चार खेल खेलिसक्दा पनि अझै मेस्सी खेलमा फर्कन सकेका छैनन् ।

खेल शुरु भएको २ मिनेटमै फातीले गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाएका थिए । उनले डे जोङको पासलमा गोल गरेका थिए । फातीले गोले गरेको ५ मिनेटमा डे जोङले गोल गर्दै अग्रता देब्बर बनाए । उनले फातीको पासमा गोल गरेका थिए ।

खेलको २७औं मिनेटमा पाहुना टोली भ्यालेन्सियाले गोल फर्कायो । उसको लागि केभिन गामेइरोले गोल गरे । सुरुमा सो गोल अफसाइड अवस्था भएको भन्दै मान्यता नदिइए पनि भिएआरबाट गोलको मान्यता दिइएको थियो ।

पहिलो हाफमा हाफमा २-१ को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थप्यो भने भ्यालेन्सियाले एक गोल फर्कायो । ५१औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनको अग्रता ३ १ बनाए । त्यसपछि ६०औं मिनेटमा अन्सु फातीको स्थानमा मैदान छिरेका लुइस स्वारेजले दुई गोल गरे । स्वारेजले ६१औं मिनेटमा र ८२औं मिनेटमा गोल गर्दै ५-१ गोल अन्तर बनाए ।

ला लिगाको पहिलो खेलमा घाइते भएका स्वारेज यसै खेलबाट मैदान फर्किएका हुन् । खेलको इन्जुरी समयमा भ्यालेन्सियाका लागि म्याक्सी गोमेजले गोल गरेपछि बार्सिलोनलो ५–२ ले खेल जित्यो ।

यो जितसँगै बार्सिलोनाले लिगका चार खेलबाट ७ अंक जोडेर लिगको चौथो स्थानमा चढेको छ । ९ अंक भएको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ भने समान ८–८ अंक भएका रियल मड्रिड र एथ्लेटिक बिल्बाओ दोस्रो र तेस्रो स्थानमा छन् ।

suvakamana