काठमाडौं । नेपालमा विदेशबाट पाहुना आउने चलन थियो । अहिले पाहुना आउँदा अगाडि नै होटलको व्यवस्था गरिन्छ । तर, त्यो बेला होटल स्थापना भइसकेका थिएनन् । कोही विदेशी पाहुना आउँदा कहाँ राख्ने भन्ने समस्या थियो । त्यसैले अतिथि सदन भनेर राणाकालमै सुरु गरिएको रहेछ । त्रिपुरेश्वरमा अतिथि सदनकै रुपमा त्रिपुरेश्वर (हाल भन्सार विभाग भएको ठाउँ)मा एक नम्बर गेष्ट हाउस बनाइएको थियो ।

तत्कालीन राणाहरुले त्रिपुरेश्वरमा रहेको दुई तले घरलाई गेष्ट हाउस बनाए । र, त्यसको नाम एक नम्बर गेष्ट हाउस राख्यो । आकाशवाणीको कार्यालय पनि त्यसकै छेउमा बनाइयो । कपासको बाक्लो डसना राखिन्थ्यो । अंग्रेजहरु आउँदा त्यही डसनामा सुत्थे ।
टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा उहाँ आफ्नै हिसावले बस्नुभयो, समस्या भएन । केआई सिंह प्रधानमन्त्री हुँदा केशरमहल छेउमा बस्नु भएको थियो । सुवर्ण शमशेरको आफ्नै दरबार थियो, त्यसमै बस्नुभएको थियो । विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएपछि उहाँलाई कहाँ राख्ने भन्ने समस्या भयो । त्यसैले उहाँलाई एक नम्बर गेष्ट हाउसमा राखियो । र, त्यसलाई प्रधानमन्त्री निवासमा रुपान्तरण गरियो ।

प्रधानमन्त्री भएपछि उहाँ चीन भ्रमणमा जानुभयो । चीन भ्रमणबाट फर्किएपछि उहाँले त्रिपुरेश्वरमा रहेको एक नम्बर गेष्ट हाउसमा पत्रकार सम्मेलन गर्नुभयो । ‘हालखबर’ बाट म पनि गएको थिएँ ।

प्रधानमन्त्रीले पत्रकार सम्मेलन सकेपछि बीपीले भन्नुभयो– “सगरमाथा चीनले दाबी गर्‍यो अफ द रेकर्ड ।”

पत्रकारिता नपढेको मलाई के थाहा ‘अफ द रेकर्ड’ भनेको ! मैले बुझिन । मेरो त्यो बेलाको पत्रकारिताको तह चीनले सगरमाथा दाबी गर्‍यो भनेर बुझ्ने तहको रहनेछ । पत्रकार सम्मेलनमा उपस्थित सबै विदेशी पत्रकार हतारहतार बाहिर निस्किए र टेलिकमको अफिसमा गए । मचाहिँ खाजा खाएर ‘हालखबर’को कार्यालयमा गएँ । त्यो बेला प्रधानमन्त्रीको कार्यक्रममा राम्रै खाजा खान पाइन्थ्यो ।

अपरान्ह पत्रिका निस्किन्थ्यो । मैले चीनले सगरमाथा दाबी गरेको समाचार ठूलो विषय हो भन्ने नै बुझिन । त्यसैले एक प्याराग्राफ लेखेँ । कार्यालय पुगेपछि ‘अफ द रेकर्ड’ भनेको नलेख्नु भन्ने रहेछ भन्ने थाहा पाएँ । तर, गम्भीर विषय भएकाले त्यसलाई नाम उल्लेख नगरी समाचार लखेँ । उहाँले बोलेका अन्य कुरालाई समेटेर चार–पाँच प्याराग्राफ लेखेँ ।

मैले सानो लेखेको समाचार भोलिपल्ट भारतीय अखबारहरुले त ब्यानर न्युज बनाएर समाचार छापे । त्यसपछि म आफैँलाई लाज पनि लाग्यो । म सिकारु भएको र कुन कुरा महत्वपूर्ण हो भन्ने खुट्याउन नसकेर त्यो भएको थियो । सायद मलाई पनि सगरमाथा चीनले दाबी गरेको कुरा ठूलो हो भन्ने लागेको थियो भने त्यसलाई ठूलो समाचार बनाउने थिएँ होला ।

गोरखा दलले बीपीलाई एक नम्बर गेष्टहाउसमा नै हमला गरेका थिए । त्यसबेला त्यहाँ एक जनाको गोली लागेर मृत्यु भएको थियो । उक्त गेष्ट हाउसमा पञ्चायत समर्थक वासु पासाले बीपीलाई गोली हान्न खोजेका थिए । पासा पछिसम्म पनि आफैँ बीपीलाई आफूले मार्न खोजेको बताउँथे ।

दुई तले गेष्ट हाउसको दोस्रो तलामा बीपी बस्थे । तल्लो तलामा निजी सचिवालय थियो । ब्रजले बनाएको त्यो घर निकै बलियो थियो । सिमेन्ट उत्पादन हुनुभन्दा पहिला बलियो घर बनाउनु प¥यो भने बज्रले बनाउने चलन थियो । सिंहदरबारमा रहेको पुरानो संसद भवन, आगलागीभन्दा अगाडिको सिंहदरबार पनि बज्रले निर्माण गरिएको थियो ।

०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्था शुरु गरे । बीपी प्रधानमन्त्री हुँदा उहाँ बसेको एक नम्बर गेष्ट हाउसमा मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरी बस्नुभएन । त्यसको छेउमा रहेको अर्को घरमा उहाँ बस्नुभयो ।

मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीले राजीनामा दिए । त्यो बेला ‘हालखबर’ छोडेर मैले ‘राष्ट्रिय समाचार समिति’मा काम गर्न थालिसकेको थिएँ । विहान मैले तुलसी गिरीले राजीनामा दिएको सुनेँ ।
दिउँसो उनी बसेको घरमा गएर सोधेँ– तपाईंले राजीनामा दिनु भएको हो ?

उहाँले भन्नुभयो– हो ।

मैले सोधेँ– किन ?

उहाँले भन्नुभयो– तपाईंलाई यो कुरा मतलब छैन । तपाईं पत्रकार भएर त्यति पनि कुरा थाहा छैन ? मेरो मतभेद कोसँग हुन्छ ?

त्यसो भनेर उहाँ कड्किनु भयो । म फुच्चे पत्रकार जवाफ दिन सकिन । तर, थाहा पाएँ– राजासँगको मतभेदका कारण उहाँले राजीनामा दिनुभएको हो । उहाँसँगको त्यो दिनको कुराकानीपछि नेताहरुसँग आफूले बुझेको कुरामात्रै सोध्नुपर्छ, नबुझेको विषयमा सवालजवाफ गर्नु हुँदैन भन्ने कुराको ज्ञान भयो ।

तर, बीपी त्यस्तो हुनुहुन्नथ्यो । सोधेको कुरा सहजरुपमा भन्दिनुहुन्थ्यो । पत्रकारले बुझेन भने दोहोर्‍याएर स्पष्टसँग बुझाइदिनुहुन्थ्यो ।

पछि अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल खुल्यो । राजा महेन्द्रको राज्यभिषेक हुने भयो । रोयल होटलमा मात्रै विदेशी पाहुना राख्न ठाउँ नपुग्ने भएपछि बागबजारमा कोलोनेशन होटल खोलियो ।

नेपालमा होटलको आवश्यकता थियो । होटलमा ठूलो लगानी गर्नुपर्ने तर तत्काल प्रतिफल नपाइने भएकाले जनताले लगानी गर्दैनन् भनेर हामीले नै गर्नुपर्छ भनेर राजपरिवारका सदस्यहरु मिलेर होटल सोल्टी खोलेका हुन् ।

शीतल निवास कृष्ण शमशेरले छोडेपछि गेष्ट हाउसका रुपमा प्रयोग गयो । त्यसअघि गेष्ट हाउस (पाहुना घर)को संख्या निकै कम थियो । तर, त्यतिबेला नै इलामको चिया वगानमा एउटा गेष्ट हाउस थियो । त्यसमा चार वटा कोठा थिए ।

त्यो बेला अहिलेको जस्तो पत्रकारिता छिप्पिएको थिएन । अहिलेको जस्तो सञ्चारमाध्यम र पत्रकार पनि धेरै थिएनन् । घटनाप्रधान समाचार हुन्थ्यो । खोजी समाचार हुँदैनथ्यो ।

त्यो बेला प्रधानमन्त्रीलाई भेट्न अहिलेको जस्तो कुर्नुपर्ने, सचिवालयबाट चिट पठाएपछि मात्रै भेट दिने भन्ने चलन थिएन । म सरासर सिधै प्रधानमन्त्री बीपीको कोठामा जान्थेँ । पत्रकार आए भनेपछि उहाँ खुसी हुनुहुन्थ्यो । सोधेको कुरा भन्नुहुन्थ्यो । नबुझे हामीले कपीमा टिपेको हेरेरसमेत यस्तो हो भनेर सच्याइदिनु हुन्थ्यो ।

मेरो साइकल थियो । म बीपीको घरमा गइरहन्थेँ । कतिपटक मैले उहाँलाई खाना खाइरहेको भेटेको छु । उहाँ घ्यूको सोखिन हुुनुहुन्थ्यो सायद । भाइबुहारी रोषा कोइरालालाई भन्नुुहुन्थ्यो– ए रोषा घ्यू लेऊ न खाऊँ ।

त्यो बेला कांग्रेस निकट पत्रिकाहरु ‘कल्पना’, ‘दियालो’, ‘उज्यालो’ थिए । पञ्चायतले एउटा बन्द गरिदिएपछि अर्को निस्किन्थे । ती पत्रिकामा काम गर्ने पत्रकारहरु बीपीसँग गएर हजुर आफ्नै पत्रिकालाई चाहिँ समाचार दिनुहुन्न, भैरवलाई मात्रै दिनुहुन्छ भन्थे । बीपी भन्नुहुन्थ्यो रे– तिमीहरु आउँदैनौं । म पुर्‍याउन जाने कुरा भएन । भैरव आउँछ त्यसैले उसैले लान्छ ।

(रिसालसँग नरेश फुयाँलले गरेको कुराकानीमा आधारित १२खरी)

suvakamana