धर्म के हो ? धर्म निरपेक्षता के हो ?खप्तड बाबा
धर्म के हो
मनुष्यको चित्तमा जति प्रकारका भाावनाहरुको उदय हुन्छ, त्यति शब्दहरु त कुनै पनि भाषामा छैनन् । सदैव आफ्ना मनोनुकूल शब्दहरु फेला पर्दैनन् । जयादा जसो यस्ता शब्दहरुको प्रयोग गर्नु पर्दछ जुन आफूले भन्न खोजेको अर्थको नजिक नजिक हुन्छन् । वाक्यमा त्यो सजीवता हुंदैन जुन प्रायः शब्दमा हुन्छ । प्रायm यही अवस्था धर्म शब्दको भयो । आजभन्दा लगभग एक हजार वर्ष अघिसम्म धर्म शब्दको प्रयोग यस प्रकार गर्न कुनै कठिनाई थिएन । त्यस बेलासम्म
अद्रोहश्चाद्रप्यलोभश्च दमो भूतदया तपः ।
ब्रह्मचर्यं तथा सत्यमनुक्रोशः क्षमा धृतिः ।।
उपर्युक्त श्लोकमा अद्रोह, अलोभ, इन्द्रिय निग्रह, भूतदया, तप ब्रह्मचर्य, सत्य, अनुक्रोश, क्षमा, तथा धृतिलाई धर्मको मूल भनिएको छ । ईश्वरोपसनाको पद्धति जुनसुकै किन नहोस्, सत्यवादी, दयालु, परोपकारी व्यक्तिलाई धर्मात्मा तथा हिंसावृत्ति भएका र लोभीलाई अधर्मी भन्ने चलन लोकव्यवहारमा पनि देखिन्छ । ईश्वरोपासनाको नाम सम्प्रदाय वा मजहब हो, जुन एकदेशीय हुन्छ । धर्म सार्वभौम छ, त्यसमा सम्पूर्ण सद्गुणहरुको समावेश हुन्छ । अरबी भाषामा धर्मको कुनै यथार्थ पर्याय छैन । मजहबको अर्थ सम्प्रदाय हो, धर्म होइन । क्रिस्तानहरुसंग पनि धर्मको अर्थ दिने कुनै शब्द थिएन र हिन्दुहरुसंग मजहब (वा अंग्रेजीमा रिलिजन) को कुनै शब्द थिएन । कहिलेकाहीं यस अर्थमा सम्प्रदाय शब्दको प्रयोग गरिन्छ । तर यो शब्द यथार्थ होइन । इसलाम धर्मका अनुयायीहरुको भारतमा कैयौं शताब्दीसम्म शासन रह्यो । शासनको पक्ष निश्चय नै बलवान् हुन्छ । तब इसलाम मजहबको जोडमा हिन्दु धर्म भन्ने व्यवहार हुन थाल्यो । त्यही व्यवहार आज क्रिस्तान रिलिजनको युगमा पनि हुंदै आइरहेको छ । आफूलाई शिक्षित मान्ने आधुनिक युवावर्गमध्ये ९० प्रतिशतको दिमागबाट त धर्मको व्यापक अर्थ लुप्त भइसकेको छ । यसको फलस्वरुप तिनीहरुमा धर्म प्रति उपेक्षा एवं उदासीनता बढ्दै गइरहेको छ ।

धर्म निरपेक्षता के हो ?
सहसा समयले पल्टा खायो । राजनीतिक कोश (पोलिटीकल डिक्शनरी) मा एउटा अर्को शब्दको वृद्धि भयो । यो नयां शब्दको नाम थियो, सेक्युलर । र यसको अर्थ गरियो धर्म निरपेक्ष भन्ने । सेक्युलर को लागि मजहब निरपेक्ष शब्द छानेको भए बेश हुने थियो । तर दुर्भाग्यवश त्यसको लागि अर्थ रुपमा धर्म निरपेक्ष शब्द छानियो । अहिलेसम्म त धर्म शब्दले आफ्नो वास्तविक अर्थका साथै मजहबको नयां अर्थलाई बोकेर हिंडिरहेको थियो। तर अब सरकारी व्यवहारमा प्रयोग हुनाले त्यसको पुरानो र वास्तविक अर्थ शिथिल हुन गयो । हामी धर्मप्रति निरपेक्ष छौं भन्छौं । निरपेक्षता त्यसै वस्तुसंग हुन्छ, जुन अनुपयुक्त ठानिन्छ । धर्म निरपेक्षको नाउं लिंदा मनमा यो भाव स्थित हुन्छ कि धर्म खराब कुरा हो, यो उपेक्षणीय छ । नयां पुस्ताले यही शिक्षा ग्रहण गरिरहेको छ । महान दुख एवं आश्चर्यको साथ भन्नु परेको छ, यो धर्म निरपेक्षताको विचार हिन्दु मस्तिष्कबाटै निस्क्यो र हिन्दु युवावर्गलाई नै यसले अफ्नो शिकार बनाउंदै गइरहेको छ ।

राजनीतिका लागि धर्म निरपेक्षता कुन हदसम्म आवश्यक छ?
राजनीतिक प्रशासनको लागि मजहब प्रति निरपेक्षताको नीति कल्याणकारक छ तर यस प्रसंगमा धर्म शब्दको व्यवहार गर्नु अति भयानक छ । संस्कृतिको दुहाइ दिनु आज एक प्रकारको फेशन जस्ते भएको छ । तर त्यस संस्कृतिको आधारशिलाको नाम समेतको बहिष्कार गर्न खोजिएको छ । धर्मको तर्फबाट निरपेक्ष रहनु नै कल्याणकारी ठानिंदै आएको छ । आश्चर्य छ हामी धर्म शब्दको वास्तविक अर्थबाट कति टाढा पुगेका रहेछौं ?
यो धर्म निरपेक्षताको नीतिबाट हामी यस्ता बन्दै गइरहेका छौं कि धर्मका मूलतत्त्वहरुलाई समेत जुन मानवताका आधारशिला हुन् जान्न र बुझ्न बिर्सेका छौं तथा दिन प्रतिदिन हामी दानवतातिर अग्रसर हुंदै छौं । आज परमार्थको स्थान दम्भले, सेवाको स्थान स्वार्थ साधनले, कर्तव्यको स्थान छलकपटले, भक्ति ज्ञानको स्थान आडम्बरले, दानको स्थान चोरीले, बजारको स्थान कालो बजारले, नाफाको स्थान लूटले, शुद्धको स्थान मिलावटले लिएर सम्पूर्ण स्थान पैसारुपी पिशाचले लिएको छ । दिन प्रतिदिन नैतिकताको पतन भइरहेको छ । यसको एक मात्र कारण हो जनतामा मानवता स्थित रहेको धर्मका मूल सिद्धान्तहरुको प्रचार नहुनु । धर्म निरपेक्षताको विकासको साथसाथै ईश्वर प्रति विश्वास क्षीण हुंदै गइरहेको छ । प्रत्यक्ष रुपमा नास्तिकताको मनोवृत्ति आज सम्पूर्ण विश्वमा फैलिरहेको छ ।
(धर्म विज्ञान पृ. ३२०–३२१)

suvakamana

एक उत्तर छोड्न

यहाँ टिप्पणी लेख्नुहोस
यहाँ नाम लेख्नुहोस