म २०१३ सालमा राष्ट्र बैंकको गर्भनर नियुक्त भएको हुँ, अरु मुलुकमा ४५–५० वटा बैंक भएकाले ती बैंकको सुपरीवेक्षण र निर्देशन दिनलाई केन्द्रीय बैंक स्थापना गरिएको थियो । नेपाल राष्ट्र बैंक केन्द्रीय बैंकका रुपमा स्थापना भए पनि त्यसबेला नेपाल बैंक मात्र सञ्चालनमा थियो । त्यसलाई सुपरिवेक्षण गरिराख्न जरुरी थिएन ।

त्यसबेला नेपाल राष्ट्र बैंक स्थापना गर्नुको मुख्य उद्देश्य एउटा मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने थियो । २०१३ सालमा नेपालमा द्वध मुद्रा चलन थियो । काठमाडौं उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्तीमा हुने, झापादेखि कन्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्रा चलनमा थियो । सरकारले नै भारतीय रुपैयाँ चलनचल्तीमा ल्याएको हो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो ।

त्यो ठीक भएन, एउटा राज्यमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने उद्देश्यले राष्ट्र बैंक स्थापना भएको हो । दोस्रो कुरा काठमाडौंको बजारमा नेरु र भारुको सटही दर तलमाथि भइराख्ने । ५–६ जना व्यक्तिहरुले खासगरी इन्द्रचोक र मख्खनका सराफीहरुले नेरुको सटही दर उनीहरुले निर्धारण गर्थे ।

लाहुरेहरु पेन्सन थापेर नेपाल फर्किदा भारुको सटही दर सस्तो पारेर किन्ने, साउन भदौतिर दशैंका लागि लत्ता कपडा झिकाउनुपर्ने हुनाले त्यो बेलामा सस्तोमा किनेको नोटको भाउ महँगो दरमा बेचेर नाफा खान्थे । नेपालको तराई क्षेत्रमा पनि नेपाली मुद्रा चलनचल्तीमा ल्याउनुप-यो र नेरु-भारुको सटही दरमा स्थायित्व ल्याइदिनुप-यो भन्ने मुख्य गरी यी दुईवटा लक्ष्य हासिल गर्नका लागि राष्ट्र बैंकको स्थापना भएको थियो ।

तराईका बासिन्दाले सीमा पारीका हाट बजारमा हरेक साता गएर मालसामान किनेर ल्याउँथे । तराईमा रोटी बेटीको सम्बन्ध अझै पनि छ । यस्तो अवस्थामा नेपाली रुपैयाँ चलनचल्तीमा ल्याउन त्यत्ति सजिलो थिएन । तराईमा नेपाली रुपैयाँ चलाउँ, मालपोत नेपाली रुपैयाँमै उठाउँ र खर्च पनि नेपाली रुपैयाँमा नै गर्न सकिन्छ भन्दा कसैले पत्याउँदैन थियो । त्यसबेला नेरुबाट भारु र भारुबाट नेरु सहजताका साथ सटही गर्न पायो भने कारोबार गर्न सजिलो हुन्छ भन्ने लाग्यो ।

यदि त्यसो हो भने झापादेखि कैलालीसम्म सटहीको व्यवस्था गर्दिनुपर्‍यो । सरकारी अड्डामा निवेदन दिएर सटही गर्दा झन्झन्ट हुन्छ । बिना झन्झट सटहीको व्यवस्था गर्दिए नेपाली मुद्रा चलनचल्तीमा ल्याउन सकिन्छ भन्ने विश्लेषण गरेर हामीले सटहीको काम सुरु गरेका हौं ।

सटही काउन्टर राख्नुभन्दा अगाडि नेरु–भारुको माग र आपूर्ति के छ ? थाहा पाउनुपर्‍यो । यस विषयमा कुनै तथ्यांक थिएन । यो अध्ययन गर्न हामीलाई ३ वर्ष लाग्यो । झापा, इलामदेखि कैलाली कन्चनपुरसम्म हामीले शाखा, उपशाखा खोल्यौं । सटही डिपो राखेर नेरु–भारुको माग र आपूर्तिको अध्ययन गरियो । ठूला नोट र अन्य नोटको चलनचल्ती कत्ति छ भन्ने तथ्यांक लिएर ३ वर्षपछि हामी १ सय ६० को दरमा हामीले अन लिमिटेड कन्र्भट गर्न सक्छौं भन्ने निष्कर्षमा पुग्यौं ।

तराईमा नेपाली मुद्रा चलचल्तीमा ल्याउने सोचाई राजा महेन्द्रको हो । तर हामीले यो काम गर्दैगर्दा २०१७ साल चैतमा कांग्रेसको मन्त्रिमण्डल गठन भएको थियो । तर हामीले तीन वर्षअघिदेखि काम गर्न सुरु गरेका थियौं । त्यसबेला बीपी कोइराला परराष्ट्र मन्त्री हुनुहुन्थ्यो, हामीले उहाँलाई सबै कुरा सम्झायौं । उहाँले हो, सम्भव छ भन्नुभयो । हामीले सम्भव छ भनेपछि उहाँले संसदमा चैत मसान्तका दिन भोलि बैशाख १ गतेदेखि नेपाल राज्यमा नेपालको नेरु पैसा चलनचल्तीमा हुनेछ, भारु सटहीका लागि १ सय रुपैयाँको १६० रुपैयाँका दरमा भारु सटही हुनेछ भनेर बीपी कोइरालाले संसदमा घोषणा गर्नुभयो ।

नेरु–भारु सटही गर्न सकिन्छ भनेर कसैले सोचेकै थिएन । यो सटही हुनै सक्दैन भन्ने थियो, तर सम्भव भयो । बीपीको त्यो घोषणाले ठूलै तरंग ल्यायो । नेपालको अर्थतन्त्र एकीकृत भयो । किनभने त्यो बेलासम्म नेपाल राज्य राजनीतिक रुपमा एकीकृत थियो, अर्थतन्त्र एकीकृत थिएन । बाटोघाटो बनिनसकेको हुनाले पूर्वी पहाडको व्यापार विराटनगर जोगमुनीबाट हुन्थ्यो । काठमाडौं र मध्य तराईको व्यापार हेटौडा हुँदै रक्सौलबाट हुन्थ्यो । अर्थात् नेपालको अर्थतन्त्र एकीकृत थिएन । नेपाली मुद्रा सबै ठाउँमा चलनचल्तीमा आएपछि नेपालको अर्थतन्त्र विकासको एक कदम अगाडि बढ्यौं ।

तराईका मान्छेले मलाई भनेका थिए, नेपाली मुद्रा चलनचल्तीमा नभएसम्म हामीलाई नेपालका नागरिक हौजस्तो लागेको थिएन । त्यसबेला भारु नभनेर कम्पनी रु (कमरु) भनिन्थ्यो । हामीले पढ्ने पुस्तकमा पनि राजेन्द्रप्रसाद प्रेसिडेन्ट, जवाहरलाल नेहरु प्रधानमन्त्री भनेर पढिरहेका थियौं । नेपाली नोट चलनचल्तीमा आउन थालेपछि हामी नेपाली नागरिक रहेछौं भन्ने महसुस भयो भनेर तराईका मानिसहरुले भन्न थाले ।

राष्ट्र बैंकले मेचीदेखि महाकालीसम्म सटही डिपो, शाखा उपशाखा खोल्यो । शाखा उपशाखामार्फत सटही गर्न पाइने भयो । सरकारी अड्डा खानामा कर्मचारीले ढिलो गर्न र फाइदा खोज्न पाएनन । बैकबाटै सटही गर्न पाइने भएकाले झापादेखि कैलाली कन्चपुरसम्मको सटही डिपो, उपशाखा वा शाखा खोल्नुपर्‍यो । त्यसबेला पढेलेखेका स्टाफ पाइँदैन थियो, नयाँ जनशक्ति लिनुपर्‍यो, उनीहरुलाई तालिम दिइसकेपछि काम सुरु भयो । त्यसपछि माग र आपूर्तिको तथ्यांक संकलन गरियो ।

त्यसबेला नयाँ जनशक्ति लियौं, उनीहरुलाई तालिम दिइयौं । हाम्रो यो लक्ष्य हो, त्यसलाई सफल नपारी हुन्न भनियो । पे्ररणदायी नेतृत्व दिएँ । अहिले पनि राष्ट्र बैंकको कर्मचारी भन्दा गर्व गर्छन् । त्यो स्प्रिट कोर्स राख्न सफल भएँ म । सबैजना जसरी भए पनि यो लक्ष्य हासिल गर्नुपर्छ भनेर दत्तचित्त भएर लागे, जसले गर्दा अझै पनि राष्ट्र बैंकको कर्मचारी हुँ भन्दा गर्व लाग्छ । राष्ट्र बैंक स्थापना भएको ६० वर्षभन्दा बढी भयो, अझै पनि मर्यादित संस्थाको रुपमा उसले काम गरिरहेको छ ।

त्यसबेला पहाडतिर बाटर सिस्टम थियो, चामल दिएर अन्य वस्तु लिने चलनलाई अंग्रेजीमा बाटर भनिन्छ । उपत्यकामा नेहरु चोक थियो । मालताल आयात सबै भारतबाट मात्र हुन्थ्यो । तेस्रो देशबाट केही आयात हुँदैन थियो । विदेशी विनियमयको सुविधा थिएन । लन्डन दूतावासलाई पैसा पठाउनुप-यो भने रिजर्भ बैंक अफ इण्डियाबाट पठाउनुपथ्र्यो । त्रिभुवन महाराजधिराजको उपचारका लागि स्वीट्जरल्याण्डमा पैसा पठाउँदा पनि रिजर्भ बैंक इन्डियाबाटै पठाइएको थियो ।

राष्ट्र बैंक स्थापना भएपछि बैंक अफ इग्ल्यिान्डदेखि सबै ठाउँमा खाता खोल्यौं । र, ब्रिटिसहरुले गोर्खालीहरुको पेन्सनका लागि जुट पाउन्ड साट्न हाम्रै राष्ट्र बैंकमा आउन थाले । विदेशी विनियममा पनि हामी आत्मनिर्भर भयौं । आफ्नो कमाइबाट हामी आफैले खर्च गर्न सक्ने भयौं ।

राष्ट्र बैंक स्थापना भएको २०–२५ वर्षसम्म बैंकहरुको नियमन र अनुगमन गर्ने कामै भएन । नेपाली मुद्रा कसरी चलाउने भन्नेमै ५ वर्ष लाग्यो, त्यसपछि विदेशी विनियमको काम भयो । त्यसपछि नोट निस्काशनको प्रवन्ध गर्‍यौं । रुद्रशमशेरको पालामा नेपाली नोट निस्कासन भयो, त्यसबेला कागजको मुद्रा निस्कासन गर्दा सुरक्षा राख्नुपर्ने प्रावधान थिएन । राष्ट्र बैंक स्थापना भएपछि नोट निस्कासनको सुप्रबन्ध गर्‍यौं हामीले । त्यसको अर्थ नोट निस्कासन गर्न सरकारले सीमा तोक्थ्यो । त्यसको ५० प्रतिशत सुन, चाँदी राख्नुपर्ने ऐन नियम बनायौं हामीले । नोट निस्कासन गरिसकेपछि नोट च्यात्यो, महिल्यो भने त्यसलाई साट्ने मेकानिजम थिएन । त्यसको व्यवस्था हामीले गर्‍यौं ।

त्यसपछि हामी बैंकिङ विस्तारतिर लाग्यौं । पञ्चायतका पालामा आएर वाणिज्य बैंक स्थापना भयो, त्यसपछि कृषि विकास बैंक स्थापना भयो । बैंकिङबाट क्रेडिट लिन नेपाल बैंकबाट मात्र पाइन्थ्यो । र, नेपाल बैंकले सबै किसिमको क्रेडिट दिन्थ्यो । उद्योग स्थापनाका लागि, एलसी पनि खोल्थ्यो, विवाह ब्रतबन्धनलाई पैसा चाहिए, गहना राखेर सापटी पनि दिन्थ्यो । क्रेडिट इन्स्टुच्युसन नेपाल बैंक मात्र थियो । नविल बैंक आएपछि नेपालमा आधुनिक बैंकिङ प्रणाली सुरु भएको हो ।

अवकासपछि आनन्दसँग टाइम म्यागजिन, लाइफ म्यागजिन पढ्ने, पब्लु र तीन पत्ति खेल्दिनँ, एउटा ब्रिज भन्ने गेम छ, त्यो खेल्छु । गल्फ खेल्छु । ६ महिना त्यस्तो लाइफ बिताएपछि बोर हुँदो रहेछ ।
२००७ को परिवर्तनपछि सुवर्णशमशेर राणा पहिलो अर्थमन्त्री हुनुभयो । राष्ट्र बैंक स्थापना गर्ने थोरै सोच उहाँको पनि थियो । त्यो सोचबारे राजा महेन्द्रलाई पनि ज्ञान थियो । बीपी–राणाको सरकार ६ महिनामै भंग भइहाल्यो । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए, केही राजनीतिक उतरचढाव भयो । यद्यपि राष्ट्र बैंक चाहिन्छ भन्ने सोच सबैमा थियो ।

पाँच वर्षका लागि म राष्ट्र बैंकमा नियुक्ति पाएको थिएँ, ४ वर्ष ८ महिना काम गरें, जब महेन्द्र महाराजधिराले संसद विघटन गरेर सत्ता लिए । बहुदलीय व्यवस्थामा विश्वास गर्नेहरु सबैलाई राजा महेन्द्रले अपदस्थ गरे । त्यो अपदस्थमा म पनि परें ।

राजा महेन्द्रले नै मलाई राष्ट्र बैंकमा नियुक्त गर्नुभएको थियो । उहाँले नै दुईवटा काम लगाउनु भएको थियो । काम सफल गरिसकेपछि म खोसुवामा परें । त्यसबेला महाराजधिराजलाई नै विन्तीपत्र पठाउने चलन थियो, मैले के बिराएँ र हट्नुपर्‍यो, साह्रै चित्त दुखेको छ भनेर मैले राजासमक्ष विन्ती बिसाएँ । त्यसपछि राजाबाट भेट्छु भन्ने हुकुम भयो । ६ महिनासम्म पर्खे, सानो ठाउँ नेपाल, उहाँका पालामा भएका मन्त्रीहरु सबै चिनजानकै थिए । उहाँहरुले विन्ती चढाइ दिन खोजेका थिए, मैले नै भेट्छु भन्ने हुकुम भएको छ भन्ने जवाफ दिन्थे ।

त्यसपछि २–३ वटा घटना भयो । त्यसबेला अराष्ट्रिय तत्व भन्ने एउटा क्याम्प थियो । यसबारे अरु नभनौं, यसमा मलाई फसाउन खोजिएको जस्तो आभास भयो । त्यो बेला नाम चलेका व्यक्तिहरुलाई अराष्ट्रिय तत्व भनेर लगाइदिने चलन थियो ।

नेपाल बसें भने म अराष्ट्रिय तत्वमा फस्छु । म राणाजी भएर पनि राणा शासनको विरुद्धमा लागेको मान्छे हुँ भन्ने कुरा सबैलाई थाहा भएकै थियो । त्यसकारण म पनि हटाइँए । राजाबाट भेट्छु भन्ने मात्र हुकुम भयो, तर भेट्न पाइँन । ६–७ महिनासम्म पनि भेट्न नपाएपछि यूएनमा एप्लाइ गरें, अफर आयो, तै पनि विदेशमा जानुपर्ने, घरमा ४ वटा स–साना केटाकेटीहरु थिए, श्रीमतिलाई नेपाल छोडेर जान अनइच्छा । नोकर चाकर नहुने ठाउँ अमेरिकामा चार सन्तान कसरी हुर्काउने भन्ने चिन्ता उनलाई थियो ।

जागीरमा ज्वाँन्ट गर भनेको थियो, ३ महिना पर सारें । त्यत्ति गर्दा पनि राजाले भेट्न दिएनन् । त्यसपछि जुलाईतिर म विदेश उडे । म नेपाल छोडेको भोलिपल्ट तपाईंलाई राजाबाट दर्शनभेटका लागि समय बक्स भएको छ भनेर घरमा चिठ्ठी आएछ ।

यूएनमा जागीर भएपछि २४ वर्ष बाहिर बसें । घर विदामा २–२ वर्षमा नेपाल आउँथे । मैले १४ वर्षमा म्याट्रिक पास गरेको हुँ, त्यसपछि पढाइमै लागि, पढाइ सकिनेवित्तिकै अर्थसचिव भइयो । कामै जोतियो, युएनमा पनि काममा साह्रै जोताउँछन् ।

अवकासपछि आनन्दसँग टाइम म्यागजिन, लाइफ म्यागजिन पढ्ने, पब्लु र तीन पत्ति खेल्दिनँ, एउटा ब्रिज भन्ने गेम छ, त्यो खेल्छु । गल्फ खेल्छु । ६ महिना त्यस्तो लाइफ बिताएपछि बोर हुँदो रहेछ ।

अरु केही न केही गर्नुप-यो भन्ने सोच आयो । गोर्खा बु्रअरी खोल्न पुगे । काल्सवर्गसँग ज्वाइन्टभेन्चर गरेर नेपालमा टुबर्ग बियर नेपालमा ल्याएँ । बहुराष्ट्रिय कम्पनीसँग ज्वाइन्टभेन्चर ल्याउने पहिलो व्यक्ति म नै हुँ । त्यसका लागि १ महिना डेनमार्गमा बसेर ३ वटा सम्झौता गरें, जुन बहुराष्ट्रिय कम्पनीसँग ज्वाइन्टभेन्चर कसरी गर्नेभन्ने नेपालमा ल्याएँ ।

कम्पनी राख्न नवलपरासीमा जग्गा खोजें, टुबर्गलाई स्थापना गरें । तर, बस्न मन लागेन त्यहाँ । त्यसपछि हिमालयन बैंक खोले । माओवादीको जनयुद्ध सुरु भएपछि वर्षौसम्म मान्छेहरुले दशैं तिहार मान्न पाएनन् । मेरो नेतृत्वमा १२–१३ जना मिलेर हामीले एउटा अपिल निकाल्यौं । अब अतिभो, वार्ता गर्नुहोस् भनेर अपिलमा भनिएको थियो । सरकार र माओवादीबीच वार्ता गराउनतिर लागें । त्यसै सिलसिलामा द्वन्द्वग्रस्त मुलुकमा समाधान कसरी भएको छ बुझ्न दमननाथ ढुंगाना, लक्ष्मण अर्याल, श्याम श्रेष्ठसँग दक्षिण अफ्रिका गयौं । त्यसबारे आर्टिल पनि लेखेको छु । खाली हात र खाली दिमाग कहिले बसेको छैन ।‍ -(सञ्जीव अधिकारीले गरेकाे कुराकानीमा अाधारित अालेख

suvakamana