बुटवल, फागुन ५
निर्विरोध रुपमा सभामुख चयन भएको पांच नं. प्रदेशमा उपसभामुखमा भने निर्वाचन हुने भएको छ । बामगठबन्धनबाट एमालेकी कृष्णी थारु र नेपाली कांग्रेसबाट रिना नेपाल विश्वकर्माले उम्मेदवारी दर्ता गरेपछि उपसभामुखमा निर्वाचन हुने भएको हो ।
आज संसद सचिवालयमा दुवै दलका नेता तथा सांसदहरु सहित पुगेका थारु र विश्वकर्माले उम्मेदवारी दर्ता गरेका हुन् । उपसभामुखमा मनोनयन दर्ता गरेकी थारु बर्दियाबाट र विश्वकर्मा कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।
विहान १० बजेदेखि २ बजेसम्म संसद सचिवालयले उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरेकोमा दुईजनाको उम्मेदवारी परेपछि भोली बस्ने संसद बैठकले उपसभामुखको चयन गर्ने छ ।
बामगठबन्धनबाट उम्मेदवारी दर्ता गरेकी कृष्णी थारुको प्रस्तावकमा एमाले संसदिय दलका सचेतक भुमिश्वर ढकाल र समर्थकमा माओवादी केन्द्रका सचेतक दधिराम शर्मा न्यौपाने रहेका छन् ।
त्यस्तै कांग्रेसकी रिना विश्वकर्माको प्रस्तावकमा कांग्रेसका सुरेन्द्र बहादुर हमाल र रमा अर्याल समर्थक रहेकी छन् । थारु एमाले र माओवादी केन्द्रका सचेतक तथा अन्य सांसद सहित १० बजे नै संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी थिईन् ।
विश्वकर्माले भने दिउसो १ बजेमात्रै मनोनयन दर्ता गरेकी हुन् । विहान मात्रै नेपाली कांग्रेसको संसदिय दलको बैठक बसी विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो । नेपाली कांग्रेसले संसदिय दलको नेता भने अझै चयन गरेको छैन ।
कुल ८७ सांसद रहेको संसदमा बामगठबन्धनको स्पष्ट दुईतिहाई बहुमत रहेको छ । प्रदेशसभामा एमालेका ४१ र माओवादी केन्द्रको २० गरी बामगठबन्धनको ६१ तथा नेपाली कांग्रेसका १९, फोरमका ५ तथा राजपा र राष्ट्रिय जनमोर्चाका एकएक जना सांसद रहेका छन् ।

suvakamana