काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिला रोशनी शाहीले उनका श्रीमान चित्रजंग शाहीसँग डिभोर्स गर्ने सहमति गरेकी छिन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत ‘२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको’ भन्दै चित्रजंग शाहीले जानकारी गराएका छन् । रोशनी र आफूले हस्ताक्षर गरेको एउटा सहमति पत्र पनि उनले सार्वजनिक गरेका छन् ।

‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं,’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ । यसका लागि कानुनी प्रक्रिया पनि सुरू गरिएको जानकारी दिइएको छ ।

रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै मिडियामार्फत् सार्वजनिक रोइलो गरेकी थिइन् । आइतबार राति उनको कोठामा गएर महराले बलात्कारको प्रयास गरेको रोशनीले दाबी गरेकी थिइन् । तर घटनाको पर्सिपल्टबाटै उनले बयान फेरिकी छिन् र प्रहरीमा उल्टै महरालाइ बचाउन निवेदन हालेकी छिन्

महरामाथि बलात्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका थिए ।तर, महराको राजीनामापछि रोशनीले आफ्नै आरोपको खण्डन हुनेगरी ‘महरा आफ्नो बाबुसमानको व्यक्ति भएको’ भन्दै कुनै बलात्कार नभएको दाबी गरेपछि यो केस अप्ठेरोमा परेको छ ।

रोशनी बुधबारमात्रै आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन समेत दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएपछि महराविरूद्धका सम्भावित प्रमाण संकलन गरिसकेको प्रहरीका लागि अनुसन्धानको बाटो नै बन्द भएको ठहर गरिएको छ ।

suvakamana